मर्निङ द बिगिनिङमा आइन् बबिना

काठमाडौं । खोटाङकी गायिका बबिना राईको पहिलो गिती एल्बम ‘मर्निङ द बिगिनिङ’ राजधानीमा सार्वजनिक भएको छ । सात गीत समावेश उनको एल्बम एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण हुँदै आएको सांगीतिक कार्यक्रम ‘झंकार लाइभ शो’मा सार्वजनिक भएको हो । विन्ध्यवासिनी म्यूजिक कम्पनीले बजारमा ल्याएको एल्बमलाई संगीतकर्मी पारस मुकारुङले सार्वजनिक गरेका थिए ।

संगीतकार डिआर अटुको एकल संगीत रहेको एल्बममा ‘माथि–माथि हिमाली भेगमा’, ‘साईला’, ‘टाढा थिएँ’, ‘मुटुभित्र’, ‘विन्दास’, ‘शुन्य भाछ’ र ‘भुर–भुर’ गीत छन् । एल्बममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द तथा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन छ । कार्यक्रममा ‘माथि–माथि हिमाली भेगमा’ बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

लमजुङको घले गाउँमा छायांकन गरिएको भिडियो विन्ध्यवासिनीको युट्युबमार्फत दर्शकले हेर्न पाउनेछन् । नेपाली साहित्य समाज दक्षिण कोरियाको दोश्रो प्रस्तुतिका रुपमा बबिनाको एल्बम बजारमा आएको हो । भारतको ईलाहाबादबाट पाँच वर्षको अध्ययनपछि संगीतमा डिप्लोमा गरेकी छन् । बबिना साहित्यकार जसराज किराँतीकी छोरी हुन् ।