दर्शकले रुचाए अनमोलको रिसाहा रुप

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘कृ’मा अनमोलको रिसाहा रुपलाई दर्शकले अधिक रुचाएका छन् । फिल्मको शुरुवाती समयबाटै उनको रिसाहा रुपलाई हेर्न पाएका दर्शकले फिल्म सकिँदासम्म उनको एक्सन र रिसाउने शैलीको तारिफ गरे । फिल्ममा एक्सनको दृश्य आउँदा उत्तिकै मात्रामा हुटिङ र ताली बजेको थियो । विशेषत मल्टिप्लेक्स भन्दा पनि सिंगल थिएटरमा फिल्ममा अनमोलको क्रेज राम्रो देखियो ।

‘म अनमोलको पहिलो फिल्मदेखिकै उनको फ्यान हो । अहिलेको फिल्ममा लामो कपालमा अनमोलको एक्सन उत्कृष्ट लाग्यो,’नुवाकोटबाट फिल्म हेर्नका लागि बालाजुस्थित अष्टनारायण हलमा आएका हरि आचार्यले भने,‘फिल्ममा अनमोलको रिसाहा रुप साँच्चै गज्जब लाग्यो । अहिलेसम्म प्रेमकथाका उनका फिल्म हेरिरहँदा यो फिल्म विशेष लाग्यो ।’ शनिवार अनमोल केसी र नायिका अदिती बुढाथोकी बडीगार्डसहित गोपिकृष्ण, अष्टनारायणलगायतका हल पुगेका थिए । अनमोललाई देख्दा युवतीहरुले रोइकराइ गरेका थिए । दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए । अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए ।

निर्देशक सुरेन्द्र पौडेलले आफुहरुको मिहिनेत सफल भएको बताए । यस्तै निर्माता सुवास गिरीले दर्शकको मायाले आफू झनै उत्साहित भएको बताए । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले लामो समयसम्म फिल्म चल्ने निर्माता सुवास गिरीको विश्वास छ । सुवास गिरी र नायक भूवन केसीले मिलेर यो फिल्मबनाएका हुन् । फिल्मले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको वितरक र निर्माताले बताएका छन् । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा फिल्मको आक्रामक व्यापार देखियो । काठमाडौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा फिल्मको व्यापार बम्पर रह्यो । गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहे । दिउँसो सवा २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले रहे ।

बलिउड फिल्म ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट ‘कृ’ले विस्थापित गरिदियो । शनिबार काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल रह्यो । हिन्दी फिल्मलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा अनमोलको फिल्म देखाइएको थियो । काठमाडौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माताले बताएका छन् । काठमाण्डौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ ।