गणेशको गीतमा साराको अप्रिल फूल !

काठमाडौं । हङकङमा बस्दै आएका गायक गणेश न्यौपानेको नयाँ गीत ‘एउटा घाउ देउ’को शनिवार नगरकोटमा छायांकन गरिएको छ । केही रोमान्टिक, केही स्याड र केही रोमाञ्चक दृश्य नगरकोटको बोजिनी होटलमा छायांकन गरिएको हो ।

भिडियोका निर्देशन समन अधिकारीका अनुसार भिडियोमा अभिनेत्री तथा मोडल सारा सिरपालीले नायक तथा मोडल गौरव पहाडीलाई अप्रिल फूल मनाएको प्रसंगलाई गीतमा राखिएको छ । ‘दुवै एकापसमा गहिरो प्रेममा परे पनि साराले गौरवलाई झुक्याउन प्रेमको नाटक गर्छिन् । उनको त्यो नाटक आम दर्शकका लागि निकै रोमाञ्चित बनाउने किसिमको छ,’निर्देशक अधिकारीले भने,‘तर कस्तो नाटक गर्छिन् भन्ने थाहा पाउन दर्शकले एक सातासम्म पर्खनै पर्ने हुन्छ । किनकी त्यो आफैमा सस्पेन्स कथा छ ।’

फिल्म ‘रुद्र’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सारा पछिल्लो पटक निखिल उप्रेतीसँग फिल्म ‘पिँजडा ब्याक अगेन’मा देखिएकी थिइन् । उनी चाँडै नै नयाँ फिल्म ‘सुश्री सम्पत्ति’मा देखिँदैछिन् । नायक गौरव पहाडीले थुप्रै फिल्ममा अभिनय गरे पनि उनी चर्चित गीत ‘साइली’मा साइलाको चरित्रबाट आफूलाई स्थापित गराए । यो गीतमा भूपेन्द्र खड्काको शब्द, दिनेश सुब्बाको संगीत छ । गीतको भिडियोमा निरोज श्रेष्ठको छायांकन र लोकेश थापाको मेकअप छ ।