रोजीले एकसाथ ल्याइन् एल्बम र पुस्तक

काठमाडौं । गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम संयुक्त रुपमा सार्वजनिक भएको छ । गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यता र गीतकार उन्नति बोहरा ’शिला’ को विशिष्ट आथित्यतामा एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’को एकसाथ सार्वजनिक भएको हा ।

एल्बममा ‘माया दिए’, ‘ओ परदेशी’, ‘भुल गरे’, ‘म सधै सधै’, ‘अब म मर्छु होला’, ‘सुनसान रातको’ र ‘डन्ट लाइक योर बानी’लगायतका गीत समावेश छन् । जसमा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेशपायल राईको स्वर तथा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, ताराप्रकाश लिम्बु, महेश खड्काको संगीत रहेको छ । यसैगरी ‘समन्वय’मा ‘तिमीलाई माया’, ‘तिम्रो माया’, ‘अलिकति माया’, ‘कोहि जिउदै’, ‘जलन हुन्छ’, ‘सुन्दर फुल’, ‘जलन हुन्छ २’ र ‘देश प्रेमी’ लगायतका गीत समावेश छन् ।

गीतकार डा. बरालले रोजीको पहिलो एल्बमलाई पनि आफैले नै विमोचन गर्ने मौका पाएको र अहिले पनि त्यो अवसर पाएको बताए । ‘उहाँलाई मैले साहित्यमा निरन्तरता दिन आग्रह गरेको थिए । विदेशमा बसेर पनि साहित्य र गीतसंगीतलाई उहाँले गर्नु भएको मायालाई हामीले स्वागत गर्ने पर्छ,’ उनले भने,‘उहाँको लेखाई रहर मात्र होइन यसमा क्षमता पनि छ । आश छ आगामी दिनमा उहाका सिर्जनाले उचित स्थान पाउनेछन् । म उहाको निरन्तरताको कामना गर्दछु ।’ त्यस्तै उन्नतिलेले पनि रोजीको सफलताको कामना गरिन् ।

गीतकार रोजीले गीत लेखन आफ्नो रहर नभई इच्छा रहेको बताइन् । ‘मैले यसमा आफ्ना भावलाई व्यक्त गरेकी छु । केहि देखेकी छु । केहि भोगेकी छु अनि केहि कल्पना गरेकी छु,’ उनले भनिन्, ‘विदेशी भूमिमा भएता पनि मैले लेख्नलाई रोक्न सकिन । गीत लेख्नमा छुटै किसिमको आनन्द छ , यसले मलाई उर्जा थप्ने काम पनि गर्ने गरेको छ । कार्यक्रममा ‘अन्जान थिए’बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यसमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ । यसमा राजिव समरको नृत्य निर्देशन, मिलन शंकरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । युकेमा बस्दै आएकी गीतकार रोजीले एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आइपुगेकी छिन् ।

तस्वीरः विवेक बस्याल