फागुन ७ गतेबाट बक्स अफिस

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले फाल्गुन ७ देखि लागु हुने गरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु भएको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलन गर्दै बक्स अफिस प्रणालीबारे जानकारी दिएको छ ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा उनले खुशी व्यक्त गरे ।

‘यो प्रणालीले फिल्मकर्मी, फिल्म क्षेत्रसँग आवद्ध रहेका मानिसहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बक्स अफिसले फाइदा पुग्नेछ,’ सञ्चारमन्त्री बस्नेतले भने, ‘योबाहेक सरकारले फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने तयारी गरिरहेको छ ।’

विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले फाल्गुनदेखि उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टीप्लेक्स हलमा र वैशाख १ देखि सम्पूर्ण फिल्म हलमा तथा श्रावण १ देखि उपत्यका बाहिरका फिल्ममा बक्स इ टिकेटिङ लागु हुने बताइन् । उनका अनुसार बक्स अफिस बोर्ड मातहतमा रहने छ । जसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ ।

उपत्यका बाहिर सञ्चालनमा रहेका फिल्म हलमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ । बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनले बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट फिल्मका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउँने बताए । कार्यक्रममा समितिका सदस्यहरु प्रदीपकुमार उदय, आकाश अधिकारीको पनि उपस्थिति थियो ।