रेखाले प्रेम अस्वीकार्दा पर्शुरामले गाए यस्तो गीत

काठमाडौं । भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले नायिका रेखा थापाप्रति समर्पित गर्दै ‘रेखा थापाले’बोलको गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देश्ँनको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । केही समयअघि नै रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियो यसै साता छायांकन गरिएको हो ।

अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् ।उक्त गीतको म्युजिक भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रुभी ब्वाइज आकर्षक नृत्य प्रस्तुत गरेको छ ।

यसरी बन्यो गीत

नायिका रेखा थापाप्रति यो गीत समर्पित हुनुको पछाडि आफ्नै रमाइलो प्रसंग छ । गायक पर्शुराम रिजालका अनुसार आठ वर्षअघि सुनसरी तरहराका एक युवकले अहिलेकी जल्दीबल्दी नायिका रेखा थापालाई एउटा प्रस्ताव लेखेर पठाए– ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नु पर्छ ?’ ती युवकले कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक पत्रिकामा प्रकाशित हुने नायिका रेखा थापाको लभगुरु स्तम्भ मार्फत उक्त जिज्ञासा पठाएका थिए ।

वास्तवमा ती युवकले एक जना केटीलाई मन पराएका थिए, तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापासँग प्रेम प्रस्ताव राख्ने आईडिया बताईदिन साप्ताहिकमा पत्राचार गरेका थिए । तीन पटकको प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभ​एपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने भन्ने जिज्ञासा राखे ।

‘कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन्, उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द भयो । लभ गुरुलाई जिज्ञासा राख्ने तीनै युवक हुन् कृष्ण राज भण्डारी, जसको शब्द तथा संगीतमा लामो समयपछि गीत बन्यो–‘बिहे गर भन्छिन् आमाले, फकाई रहन्छन् बाबाले, बिहेकै लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाई मन परेकीले, अहिले सम्म उत्तर दिईन रेखा थापाले’ । गीतकार भण्डारी भन्छन्– ‘गायक पर्शुराम रिजालसँगको भेटपछि गीत रेकर्डिङ्गको लागि नायिका रेखा थापासँग अनुमति प्राप्त भयो, अनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो ।’