ओमविक्रम र जलजलालाई अञ्जुको जनही २५ हजार सहयोग

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नै फाउन्डेसनमार्फत मृगौला पीडित गायक ओमविक्रम विष्ट र गायिका जलजला परियारलाई जनही २५ हजार रुपैयाँ सहयोग गरेकी छन् । राजधानीको हेल्लो क्याफे गजलबारमा पत्रकारमाझ गायिका पन्तले गायक विष्टका छोरा शिखरविक्रमको हातमा २५ हजार र गायिका परियारको बुबा नारायणबहादुर दर्जीको हातमा २५ हजार सहयोग प्रदान गरेकी हुन् । गायिका पन्तले दुवै गायकगायिकाको स्वास्थ्यलाभको कामना गर्दै फाउन्डेसनले अझै सकेको सहयोग गर्न तयार रहेको बताइन् ।

नेपाली गीत संगीतको विकास, संरक्षण, सम्बद्र्धनको क्षेत्रमा क्रियाशील रहेको गीतकार संघ नेपाल र संगीतकार संघ नेपाललाई पनि २५–२५ हजार रुपैयाँ हस्तान्तरण गरिन् । दुवै संस्थाको प्रतिनिधित्व गर्दै संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी, अन्जु पन्त फाउन्डेसनका महासचिव थीर केसी र गायिका पन्तले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै जलजलाकी बुबा नारायणबहादुर दर्जी र ओम विक्रम विष्टका छोरा शिखर विक्रम विष्टले सहयोगप्रति गायिका पन्तलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पत्रकार दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।