केकी भन्छिन्,‘हुर्रेमा म मोह जालमा फसाउने केटी’

पोखरा । नायिका केकी अधिकारी हरेक फिल्ममा फरक फरक चरित्रमा देखिन्छिन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’मा भने उनको चरित्र अहिलेसम्मकै फरक चरित्रमा छ । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको युनिटसँग पोखरामा पुगेकी केकीले आफू मेनुका पात्रको रुपमा फिल्ममा देखिने खुलाइन् ।

‘प्रेमको मोह जालमा फसाउने केटीको भूमिका अभिनय गरेकी छु,’उनले भनिन्,‘मेरो चरित्र हेर्दा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।’ उनले पोखरा नेपाली फिल्म उद्योगको लागि दोश्रो ठूलो घर रहेकोसमेत बताइन् । अर्का कलाकार राजाराम पौडेलले ‘हुर्रे’ को सबै छायांकन पशुपति क्षेत्रमा भएको बताउँदै उक्त फिल्मले फेरी आफु१६ वर्ष उमेरमा फर्किएको अनुभुति गराएको बताए । फिल्मको गीत ‘ठेकीमा दही मदानीमा मही’मा केकीसँग आफुले पनि ठुम्का लगाउन पाउदा आफु १६ वर्ष उमेरको छँदाको झझल्को दिलाएको दाबी गरे ।

देश दौडाहमा रहेको फिल्म युनिटले विहीबार पोखरामा प्रेसमिट गर्दै चलचित्र फुल कमेडी कथामा रहेको उल्लेख गरेको छ । याम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतका कलाकार अभिनय रहेको छ । फिल्ममा दावा शेर्पा ,सोनम लामा र शेयरिङ डोर्जी लामाको लगानी छ ।