दोस्रो सातामा कृ, निर्माता भन्छन्,‘लगानी सुरक्षित’

काठमाडौं । अनमोल केसी र नवनायिका अदिती वुढाथोकी स्टारर फिल्म ‘कृ’ शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मका निर्माताले प्रदर्शनको छैटौ दिनसम्म लगानी सुरक्षित गरेको दाबी गरेका छन् । फिल्मले ६ दिनमा देशभरका १ सय १८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको निर्माता सुवास गिरीले दाबी गरे ।

उनका अनुसार फिल्मले ५ करोड ५० लाख ग्रस कलेक्शन गर्दा उनको हातमा २ करोड ४० लाख पर्न जान्छ । फिल्मको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको गिरीले बताए । साढे ३ करोडको लगानीमा बनेको यो फिल्मले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । निर्माता गिरीले दोश्रो सातमा पनि चलचित्र ८० वटा हलमा चल्ने बताए ।

फिल्मका अर्का निर्माता भूवन केसीले फिल्ममा महंगो रकम लगानी भएपनि राम्रो चलचित्र बनाउँदा दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास ‘कृ’ले दिएको बताए । उनले ठूलो हिन्दी फिल्मलाई ‘कृ’ले पछारेको दाबी गरे । नायिका अदिती वुढाथोकीले पहिलो फिल्मबाट नै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । फिल्ममा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । यसैबीच चलचित्रमा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत शुक्रबार रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।