सुपरस्टार नाइटको तयारीमा जुट्यो कतार

कठमाडौं । नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई फैलाउने उद्देश्यका साथ आगामी मार्च ९ मा कतारमा हुने ‘बुम कुमारी सुपर स्टार नाइट’ को तयारीमा आयोजक जुटेका छन् । बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तले कतारमा सम्पूर्ण तयारी शुरु भइसकेको जानकारी दिए । ‘कतारबासी नेपाली प्रस्तुतिका लागि पर्खाइमा हुनुहुन्छ’ कतारमा रहेका धिरेन्द्रले भने ‘यसले आपसी मितव्ययितासँगै कला र संस्कृतिलाई समेत फैल्याउछ । कतारबासी नेपालीबाट पाएको प्रतिक्रियाले म हर्षित छु ।’

कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई यसअघि नै यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टले व्यवस्थापन गरेको छ । कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, नायिका निरुता सिंह, अनु शाह, गायक अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ र गायक तथा संगीतकार राजनराज शिवाकोटीको प्रस्तुति हुनेछ ।

त्यस्तै गायिका राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, नृत्य निर्देशक तथा मोडल शंकर बीसीको पनि प्रस्तुति हुने कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गर्नेछन । ‘यसपटक कतारमा रहेका नेपालीको लागि हामीले मनोरञ्जनात्मक प्याकेज नै ल्याएका छौ’ नरेश भन्छन ‘तपाइको समय र पैसाको सदुपयोग हुनेमा दुईमत छैन ।’

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे । कार्यक्रम मार्च ९ मा दोहा स्थित एसियन टाउन एम्पीथिएटरमा हुनेछ । कार्यक्रमको गेट ४ बजे खोलिनेछ भने सुरु ६ बजेबाट हुने जनाइएको छ ।