बिकिनी दृश्यले टेलिभिजनमा रोकियो ‘स्याण्डविच’

काठमाडौं । आगामी फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ प्रदर्शन अघि नै विवादमा तानिएको छ । फिल्ममा रहेको ‘स्याण्डविच मी’ बोलको गीतमा रहेको विकिनी दृश्यले बजारमा चर्चा पाइरहँदा यो गीतलाई टेलिभिजनले बजाउन अस्वीकार गरेका छन् ।

फिल्मको गीत सार्वजनिक कार्यक्रममा फिल्ममा रोमियो बनेका नायक विनय श्रेष्ठ दुई विकिनी गर्लसँग देखिए पछि सामाजिक सञ्जालमा यो कार्यको निकै विरोध पनि भएको थियो । युट्युबमा सिमित उमेर समूहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलले प्रसारणमा हिच्किचाएका छन् ।

फिल्मका निर्माता प्रशन्न गोपालीले गीतमा ‘भल्गर’ कुरा बढी भएको कुरा आएपछि गीतलाई टेलिभिजनले रोकेको बताए । फिल्मका निर्देशक नरेशकुमार केसीले रोमियोको चरित्र अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गरे ।

‘गाउँकी मुना र शहरको रोमियो बिचको कथालाई फिल्ममा देखाएका छौं,’उनले भने,‘त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ ।’ फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठशिर्ष भूमिकामा छन् ।