‘पञ्चायत बन्नु आफैंमा इतिहास’

काठमाडौं । पञ्चायती शासनमा समाजमा हुने न्याय र फैसलाको विषयलाई उठान गरिएको फिल्म ‘पञ्चायत’ अहिले फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ । दिग्गज अभिनेता सरोज खनाललाई प्रधानपञ्चको गेटअपमा प्रस्तुत गर्नु र नायिका नीता ढुंगानाले कम उमेरकी चरित्रमा अभिनय गर्नुले पनि फिल्ममा नयाँ कुरा केही छन् कि भन्ने चासो फिल्मकर्मीमा छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले अमेरिकाको क्यालिफोर्नियामा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाको २ सय १६ वटा फिल्मलाई उछिन्दै उत्कृष्ट फिल्म घोषित भएको थियो । फिल्मकी नायिका नीताले समेत उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिइन् ।  निर्देशक शिवम् पञ्चायती कथामा फिल्म बन्नुपर्ने आफ्नै तर्क राख्छन् । ‘ति दर्शकहरुका लागि हो ‘पञ्चायत’ । जसले त्यो कालखण्डको पत्याउनै नसकिने इतिहास हेर्न पाओस,’उनले भने,‘सातवर्ष अघि बनेको स्किृप्ट आज आएर पर्दामा उतार्नु चानचुने कुरा होईन । निर्माताले नेपाली पहिचान चिनाउने आँट गरेकाले सात वर्षपछि भएपनि फिल्म बन्नु आफैंमा इतिहास हो ।’

फिल्मका निर्माता सुशान्त श्रेष्ठ फिल्मले व्यापारिक सफलता पाए पनि नपाए पनि इतिहास साक्षी राख्ने काम भने पक्कै गर्ने दाबी गर्छन् । फिल्मका प्रस्तुतकर्ता गणेश गिरीले दर्शकले फिल्म ‘झोला’पछि मौलिक नेपालीपनको फिल्म हेर्न नपाइरहँदा त्यो भोकलाई ‘पञ्चायत’ले मेटाउने बताउँछन् । अभिनेता सरोजले पनि फिल्मको कथा नै बलियो पक्ष रहेकाले बलियो कथामा काम गर्न पाउँदा खुशी लागेको बताए ।

आगामी चैत्र २ गते रिलिज हुने फिल्ममा सञ्चारकर्मी रवी अधिकारी कार्यकारी निर्माता छन् भने शंकर सुवेदीको समेत लगानी छ । फिल्ममा सरोज खनाल, नायिका नीता ढुंगानासँगै रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।