जेठमा उड्दै डिट्ठाको चंगा

काठमाडौं । टेलिभिजनको पर्दामा ‘डिट्ठा साब’का रुपमा परिचित किशोर भण्डारीको डेब्यु निर्देशन रहेको फिल्म ‘चंगा’ २०७५ साल जेठ २५ गते रिलिज हुने भएको छ । निर्देशक भण्डारीले मंगलबार उपत्यका बाहिर फिल्म वितरणमा सक्रिय फिल्म वितरक कम्पनी एफडीसँग उक्त मितिमा फिल्म रिलिजको सम्झौता गरेका हुन् । कम्पनीका तर्फबाट कपिलप्रसाद द्वा र निर्देशक भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । निर्देशक भण्डारीले फिल्म जेठमा रिलिज हुने भएपछि त्यही समय तालिका अनुसार फिल्मको सबै काम पुरा गर्ने बताए ।

फिल्ममा बुद्धि तामाङ, राजन खतिवडा, अंकित खडका, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, प्रेम वर्षा, लखी भण्डारी र कृष्ण भण्डारीलगायतको अभिनय छ । कमेडी फ्लेबरमा बनेको फिल्ममा प्रकु पाण्डे कार्यकारी निर्माता छन् ।

रेश्मा तिमिल्सिना ‘बुनुमैचा’ निर्माता रहेको फिल्ममा रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको हो ।