मलेसियाली सात सय थिएटरमा साढे ७

काठमाडौं । नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीताका तराईमा भएको आन्दोलनलाई नजिकबाट नियालेका एक फोटोपत्रकारको कथाव्यथालाई विषय बनाएर निर्माण गरिएको फिल्म ‘साढे ७’ मलेसियाका ७ सय थिएटरमा एकसाथ प्रदर्शन हुने भएको छ । गायक तथा कलाकार सत्यराज आचार्य शीर्ष भूमिकामा रहेको फिल्म नेपालमा फागुन ११ गते रिलिज हुँदैछ ।

फिल्मका निर्मातामध्येका एक नरेशदेव पन्तका अनुसार मलेसियाको अराइजर मेनेजमेन्ट एसडीएन बीएचडीले मलेसियाको मलाय भाषाको सबटाइटलसहित फिल्म प्रदर्शनको अधिकार लिएको छ । ‘हाम्रो फिल्म मलेसियाका ७ सय थिएटरमा एकसाथ प्रदर्शन हुँदैछ । यो हाम्रा लागि एउटा ऐतिहासिक र गर्वको कुरा हो,’ उनले भने । फिल्म २ मार्चमा मलेसियाका हलमा प्रदर्शन हुनेछ । कलाकार सत्यराजले आफूले मिडियामा पत्रकारले आन्दोलनताका दुःख पाउने गरेको समाचार पढ्दै आए पनि यो फिल्ममा आफैले त्यो अनुभव गर्दा निकै गाह्रो भएको बताए ।

सुनिल थापाको प्रस्तुतिमा सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको फिल्ममा मेनका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको पनि अभिनय रहेको छ ।  साम्तेन भुटिया निर्देशित फिल्ममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुक्त लगानी रहेको छ ।