होलीको छेकोमा तराईमा संरक्षण

काठमाडौं । गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागू पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको छ । वर्षाले तराईका अधिकांश भु–भाग डुबानमा परेर फिल्मले अपेक्षा अनुसार दर्शक नपाएपछि सौगात मल्ल र निखिल उप्रेती अभिनित फिल्मलाई फागुन १७ गते पुनः प्रदर्शनमा ल्याइन लागिएको हो ।

फिल्मका निर्माता प्रदीपकुमार उदयका अनुसार यो फिल्म होलीको छेको पारेर विराटनगर, जनकपुर, राजविराज, गौर, वीरगञ्जलगायत ८ जिल्लामा पुनः प्रदर्शन हुनेछ । ‘अघिल्लो पटक रिलिजको समयमा तराई पुरा डुबानमा थियो । जसकारण दर्शकहरु फिल्म हेर्न हलसम्म आउन पाउनुभएन,’निर्माता उदयले भने,‘त्यसकारण होलीको मौका छोपेर फिल्मलाई पुनः प्रदर्शनमा ल्याउन लागेका हौं । होलीको माहौलमा फिल्मले राम्रो व्यापार गर्ने आशा छ ।’

पूर्णेन्द्रकुमार झाको निर्देशन रहेको फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई पु¥याएको असरका बारेमा कथा भन्दछ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।फिल्ममा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको लगानी छ ।