चैत्रमा दीपकको डेस्टिनेशन काठमाडौं

काठमाडौं । दिवंगत निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ आगामी चैत्र २ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको तयारी गरिरहँदा निर्देशक रायमाझीको निधन भएपछि प्रदर्शनमा ढिलाई भएको थियो ।

शरद अधिकारीले निर्माण गरेको फिल्म जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो । निर्देशक रायमाझीको निधनपछि अर्का निर्देशक मधुसुदन भट्टराईले कार्यकारी निर्देशनको जिम्मा लिएर फिल्मको काम पुरा गरेका थिए ।

फिल्ममा दिलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछाने प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।