आफ्नै गीतमा केकीसँग रोमान्टिक नारायण

काठमाडौं । आफ्नो गहकिलो स्वरका कारण टेलिभिजनमा छुट्टै पहिचान बनाएका भिजे नारायण कडरियाले नेपाली सांगीतिक क्षेत्रको गायन कलामा आफ्नो पाइला चालेका छन् । नारायण आफैले रचना गरेको गीत ‘जाम पारी पारी’मा उनले गाएका मात्र छैनन्, यसको म्युजिक भिडियोमा पनि उनकै अभिनय हेर्न पाइन्छ ।

लामो समय टेलिभिजनमा नेपाली गीत संगीत सम्बन्धी कार्यक्रम प्रस्तुत गरेका नारायण टेलिभिजन पर्दाका लोकप्रिय प्रस्तोता हुन् । गत सोमबार उनले आफ्नो पहिलो गीतको म्युजिक भिडियो समेत छायांकन गरेका छन् । फोटोपत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा ब्यस्त बनेका नबिन बाबु गुरुङको निर्देशनमा उनले नायिका केकी अधिकारीसँग उनले अभिनय गरेका छन् । मकवानपुरको कुलेखानी वरपर छायांकन गरिएको नारायणको म्युजिक भिडियोलाई अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गर्ने भएको छ ।

गीत संगीत अनि गायन संगै म्युजिक भिडियोको मोडेलको रुपमा समेत अभिनय गरेका नारायणले यस गीतबाट आफुलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने आशा राखेको बताए ।  म्युजिक भिडियोलाई छिट्टै सार्वजनिक गरिने भन्दै आफ्नो पहिलो प्रस्तुतिलाई नेपाली संगीतका दर्शकश्रोताले मनपराइदिने गायक नारायणले अपेक्षा गरेका छन्।