दीपिका नेपाल नआउने, यो हो कारण

काठमाडौं । फिल्म ‘पद्यावत’को सफलताको स्वाद चाखिरहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने तयारी भइरहँदा त्यो तयारी केही समयका लागि स्थगित भएको छ । आगामी मार्चमा नेपालबाट छायांकन शुरु गरिन लागिएको बलिउड फिल्म ‘रानी’का लागि दीपिका नेपाल आउने चर्चा चलिरहँदा केही समयका लागि फिल्मको काम रोकिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक विशाल भारद्वाजले सपना दिदीको जीवनीमा आधारित फिल्मलाई तत्काल शुरु गर्न असम्भव रहेको बताएका छन् । उनले ट्वीटरमा फिल्मका प्रमुख कलाकार दीपिका पादुकोण र इरफान खान दुवैजना अस्वस्थ रहेकाले केही समयका लागि सुटिङ रोकिएको जानकारी दिएका छन् । विशालका अनुसार इरफान यतिबेला जण्डिसबाट ग्रस्त छन् । इरफानको स्वास्थ्य ठिक भएपछि मात्र फिल्मको सुटिङ शुरु हुनेछ । इरफान अभिनित फिल्म ‘ब्ल्याकमेल’को ट्रेलर सार्वजनिक कार्यक्रम इरफानकै कारण रोकिने भएपछि फिल्म निर्माताले युट्युबमार्फत सार्वजनिक गरेका थिए ।

यता दीपिका पनि पूर्ण रुपमा अस्वस्थ छिन् । केही दिन अघि एयरपोर्टमा उनको घाँटीमा बेण्डेज लगाएको प्रष्ट देखिएको थियो । दीपिकालाई हालका दिनमा बैंकमा पैसाको समस्या भएपछि पनि फिल्मको काम तुरुन्तै गर्ने सम्भावना छैन । यो फिल्मका लागि दीपिकाले ठूलो शारीरिक मेहनत पनि गर्नुपर्ने हुन्छ । जुन कामका लागि फिल्मको सेडयुल सार्नुपर्ने अवस्था छ ।