पोस्टमार्टम रिर्पोटः ‘बाथटबमा डुबेर श्रीदेवीको निधन’

मुम्बई(एजेन्सी) । बलिउड नायिका श्रीदेवीको निधन हृदयघातबाट भएको समाचार बाहिर आइरहँदा उनको पोष्टमार्टमको रिर्पोटले हृदयघात नभई अन्य कारणले निधन भएको दाबी गरेको छ । दुबईमा निधन भएकी श्रीदेवीको निधन बाथटबमा डुबेर भएको दुबइको खलीज टाइम्सले जनाएको छ ।

समाचार अनुसार पोष्टमार्टम रिर्पोटमा श्रीदेवीको शरीरमा मदिराको अंश रहेको पाइएको छ । उनको फोरेन्सिक रिर्पोटले शरीरमा मदिराको मात्रा देखिएको जनाएको छ । गल्फ न्यूजले मदिराको नशामा श्रीदेवीले आफ्नो सन्तुलन गुमाएर बाथटबमा लडेको उल्लेख गरेको छ । ५४ वर्षीया अभिनेत्री दुबइमा आफ्नो भान्जाको विवाहमा सरिक भइरहँदा शनिवार बेलुका हृदयघातका कारण निधन भएको समाचार बाहिर आएको थियो । समाचार अनुसार बाथटबमा लड्नु अघि श्रीदेवी पति बोनी कपुरसँग डिनरका लागि तयारी अवस्थामा थिइन् । भारतबाट दुबइ पुगेका बोनीले श्रीदेवी बसेको होटलको कोठामा पुगेर सुतेकी श्रीदेवीलाई उठाएकी थिइन् । त्यसपछि उनीहरु करिब १५ मिनेट एकापसमा कुराकानी गरेका थिए ।

खाना खानु अघि श्रीदेवी कोठाको बाथरुममा छिरेकी थिइन् । बाथरुम छिरेको १५ मिनेटसम्म श्रीदेवी बाहिर नआएपछि बोनीले ढोका ढकढकाएका थिए । ढोका नखोलिएपछि बोनीले जबर्जस्ती ढोका खोल्नु परेको थियो । ढोका फोडेर भित्र पस्दा बोनीले श्रीदेवीलाई बाथटबमा बेहोस् भई पानीमा डुबेको अवस्थामा भेटेका थिए । केही प्रयास गर्दा पनि श्रीदेवी होस्मा नआएपछि बोनीले प्रहरीलाई बोलाउनु परेको थियो । जुन बेला श्रीदेवीले संसार छाडिसकेकी थिइन् ।