प्रियंकासँग रोमान्टिक बने डाक्टर विक्रान्त

काठमाडौं । पेशाले अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता फुसर्दको समयमा सांगीतिक माहौलमा निकै रमाउँछन् । डाक्टरी पेशासँगै गायनमा पनि रुची राख्ने उनी गीत रेकर्डमा उत्तिकै ध्यान दिन्छन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनले नायिका प्रियंका कार्कीसँग रोमान्स गरेका छन् । विक्रान्त र नारायण खनालको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ । सुगम संगीतसँगै पाश्र्व गायनमा पनि व्यस्त यी गायक आफुलाई नेपालकै पहिलो पाश्र्व गायक डाक्टरका रुपमा चिनाउँछन् । ‘मैले छोटो समयमा नै विभिन्न फिल्मका लागि २० वटा भन्दा बढी गीत गाईसकेको छु,’उनले भने । विक्रान्तले ‘चिनारी’, ‘किन रुन्छ यो मन’, ‘अस्मिता’, ‘टिनेज’ लगायतका फिल्माका गीतमा स्वर दिइसकेका छन् ।

विक्रान्तले अञ्जु पन्त, रजिना रिमाल र जुना प्रसाई जस्ता चर्चित गायिकासँग पनि ड्युट स्वर दिएका छन् । उनको स्वरमा रहेको आधुनिक गीतका भिडियोलाई पनि दर्शकले राम्रो रुचाएका छन् । उनले गुरुङ फिल्म ‘तले क्रोम चु सै’ को ‘पहिलो प्रहर’ गीतमा जुना प्रसाईसँग स्वर दिएका छन् । गीतमा राम पोखरेलको शब्द र विकास चौधरीको संगीत छ ।