नाकाका विपिन भन्छन्ः‘मेरो भूमिका फरक छ’

काठमाडौं । अभिनेता विपिन कार्की फिल्मै पिच्छे फरक चरित्रमा देखिन्छन् । आगामी फाल्गुन १७ गतेबाट मोफसल र १८ गतेबाट उपत्यकामा प्रदर्शनमा आउन लागेको फिल्म ‘नाका’मा पनि विपिन दर्शकमाझ फरक गेटअपमा देखिँदैछन् । सीमा क्षेत्रमा हुने तस्करीको कथालाई प्रस्तुत गरिएको फिल्ममा विपिन सहयोगीको भूमिकामा छन् ।

फिल्म प्रचारका लागि चितवन पुगेका विपिनले पत्रकारमाझ आफ्नो चरित्रका बारे बोलेका थिए । उनले फिल्ममा आफुले फरक भूमिका निर्वाह गरेको बताए । ‘अहिलेसम्म मैले जे जति फिल्ममा जे जस्तो भूमिका निर्वाह गरे, त्यो भन्दा नाकामा फरक भूमिका छ,’उनले भने,‘मैले सकुन्जेल सधैं भरी फरक स्वाद नै पस्कनेछु ।’ निर्माता प्रविन टक्की फिल्मको ट्रेलर र पोष्टरलाई दर्शकले निकै मन पराएकोले फिल्मलाई पनि दर्शकहरुले माया गरेर हलसम्म हेर्न जानेमा आफु विश्वस्त रहेको बताए । फिल्मबाट अभिनयमा डेब्यु गरेकी नायिका ठिन्ले ल्हाम्हुले फिल्ममा आफु सुमन नामक केटीको भूमिकामा रहेको बताइन् ।

फिल्ममा बाह्रबिसे वरपर हुने तस्करीको कथाबस्तुलाई पर्दा उतारिएको फिल्म युनिटको भनाई छ । फिल्ममा बिपिन कार्की, ठिन्ले ल्हाम्हुका अलावा रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्भ लगायतको मुख्य अभिनय रहेको छ । अमित श्रेष्ठको निर्देशन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको छायांकन छ ।