अधिश्रीको छोरी अन्माउँदामा भावुक सरोज

काठमाडौं । एघार वर्षे गायक अधिश्री कसपालको गीत ‘छोरी अन्माउँदा’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले फिचरिङ गरेका छन् । घरकी एक्ली छोरी विवाहमा अन्माउँदा एक पितालाई पर्ने चोटलाई भावुक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ । कार्यक्रममा अधिश्रीका हजुरबुवा बाबुकाजी कसपालले नातिको प्रतिभा देखेर आफूलाई गर्व लागेको बताए ।

गीतका संगीतकार सुरेशले सुभासचन्द्रको गीत हेर्दा फरक धारको पाएको बताउँदै आफूले गहिरो र गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए ।  संगीतकार, गायक तथा रचनाकार दीपक जंगमले आफ्नो समयमा बाल्यअवस्थामा गीत गाउनु निकै चुनौतिपूर्ण रहेको स्मरण गरे । कार्यक्रममा अधिश्रीले ‘छोरी अन्माउँदा’ र ‘अरुलाई निचो देखाउन खोजेर’ बोलको गीत गाएका थिए । गीत ‘अरुलाई निचो देखाउन’मा हरि लम्सालको संगीत र सुवासचन्द्रको शब्द छ ।