वैशाखमा डण्डीबियो खेल्दै खगेन्द्र

काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछाने शीर्ष भूमिकामा रहेको फिल्म ‘डमरुको डण्डीबियो’को आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । निर्माण पक्षले रिलिज मितिसँगै दुई नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ ।  पोस्टरमा खगेन्द्रलाई मात्र डण्डीबियो बोकिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । नेपालमा लोप हुँदै गईरहेको डण्डीबियोको कथालाई उठान गरेको फिल्ममा स्क्रिप्ट लेखक छेतेन गुरुङको डेब्यु निर्देशन छ । छेतेनले यसअघि ‘नोभेम्वर रेन’, ‘क्लासिक’ र ‘डायरी’को स्क्रिप्ट लेखिसकेका छन् ।

फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको सिनेमामा खगेन्द्रकै लेखन छ । प्रितम पाण्डेको सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायाँकन रहेको छ ।