तीस वर्षपछि जन्मथलोमा उदितनारायण

मुम्बई(एजेन्सी) । नेपाली र हिन्दी फिल्मका चर्चित पाश्र्वगायक उदित नारायण झा तीस वर्ष पछि आफ्नो जन्मथलो पुगेका छन् । बिहारको सुपौल क्षेत्रको बायसी गोठमा उदित नारायण एक मैथिली ब्राम्हण परिवारमा जन्मिएका थिए । यही ठाउँमा उदित ३० वर्ष पछि पुगेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उदित जन्मथलोमा भएको एक यज्ञको समापनको अवसर पारेर पुगेका थिए । उनी जन्मथलोमा पुग्दा निकै भावुक पनि भए । त्यहाँ उपस्थित पत्रकारले उदित नारायण जन्मिएको एक झुपडी देखाइदिएपछि उदितका आँखा रसाएका थिए ।

उनले आफ्नो जन्मभूमिलाई नमस्कार गरेर त्यहाँको माटोको सानो अंशलाई हातमा लिएका थिए । वर्षौ पछि आफ्नो गाउँ आएका यी प्रख्यात गायकलाई स्थानीयबासिन्दाले यज्ञस्थलमै गीत गाउन आग्रह गरेका थिए । उदितले पनि उनीहरुको आग्रहलाई स्वीकार्दै केही हिन्दी, मैथिली र भोजपुरी गीत पनि गाएका थिए । उनले गीतको शुरुवात फिल्म ‘तेरे नाम’को टाइटल गीत गाएर गरेका थिए ।