वैशाखमा नेपाल आउँदै सुबास घई

काठमाडौं । नेपाली चेली तथा बलिउड नायिका मनिषा कोइरालालाई बलिउडमा डेब्यु गराउने निर्देशक सुबास घई आगामी वैशाखमा नेपाल आउने भएका छन् । मनिषाले सन् १९९१ मा सुवासको फिल्म ‘सौदागर’मा अभिनय गर्दै बलिउडमा डेब्यु गरेकी थिइन् ।

हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँगको भेटमा घईले आफू नेपाल आउने वचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले घईले आफू वैशाखमा नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’ पुरीले भने ।

टोलीमा एकेडेमीका एकेडेमिक निर्देशक नरेशकुमार केसीसहित चारजना छन् । टोलीले सोमबार मुम्बईको प्रख्यात फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गर्दै त्यहाँका प्रमुखसमेत रहेका निर्देशक घई, अध्यक्ष मेघना घई पुरी र हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो ।

भेटमा दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, फिल्म निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको थियो ।