सिल्भर जुब्ली साँझमा सिमसिमे पानीमा गायिका

काठमाडौं । गायन करियरको २५ वर्ष पुरा गरेको अवसर पारेर गायिका रेखा शाह पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् । उनी आगामी फागुन २४ गते बिहिबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना हुने एकल गायनमा आफ्ना गीतका साथ प्रस्तुत हुनेछिन् । ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत लेखन÷संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेकी गायिका रेखा आफ्नो पहिलो पटक एकल गायनमा प्रस्तुत हुन लागेकी हुन् । कार्यक्रम रेखा शाह फाउण्डेसनले गर्न लागेको हो ।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत गायनमा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान पाएपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थीसमेत हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखू“ भने’ लगायतका उनका गीत चर्चित छन् ।

बिहिबारको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् । कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका कालजयी गीत–गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन् ।