समाजसेवा गर्न कतार हसाउँदै जिग्री पाँडे

काठमाडौं । सामाजिक कामको सहयोगार्थ कतारमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । यसका लागि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ फागुन २५ अर्थात मार्च ९ कतार जाने भएका छन् । एफएफएल को दोस्रो वार्षिक उत्सवको अवसरमा कतारको दल्ला ड्राइभिङ एकाडेमीको हलमा हुने कार्यक्रममा नेपालबाट अन्य थुप्रै कलाकारहरु पनि जाने भएका छन् ।

सास्कृतिक कार्यक्रमबाट उठेको रकम नेपालका बालबालिकहरुको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने आयोजकले जनाएको छ । एफएफले यस अघि पनि यस्ता सामाजिक कार्यहरु गर्दै आएका थिए । ‘कलाकारिता संगै जोडिएर आउने सामाजिक काममा हामी कलाकारहरु सधै लागि परिरहेका हुन्छौँ । वालबालिकाको उज्वल भविष्यको लागि यो कार्यक्रमले थोरै भए पनि पुण्यको काम गर्छ भन्ने विश्वास लिएका छौँ ’ अर्जुनले भने ।

जिग्री पाडेँ पनि कलाकारिता संगै सामाजिक काममा लाग्दै आइरहेका छन् । उनीहरुले दीनदुखी र असाहयहरुको सहयोगका लागि भन्दै जिग्री पाँडे प्रतिष्ठान खोलेर काम गर्दै आएका छन् । धुर्मुस सुन्तलीको हरेक वस्ती निर्माण अभियानमा साथ दिदै आएका जिग्री पाँडेले प्रतिष्ठान मार्फत सप्तरीका दृष्टिविहीन ३ परिवारका लागि घर समेत निर्माण गरिदिएका छन् ।