शिवमको पञ्चायतमा शीर्ष नेताको चासो

काठमाडौं । पञ्चायती शासन कालमा तत्कालिन न्याय प्रणालीको विषयमा तयार पारिएको फिल्म ‘पञ्चायत’ले आगामी फागुन २५ गते राजधानीमा भीआइपी शा गर्ने भएको छ । फिल्मका प्रस्तुतकर्ता गणेश गिरीले एउटा कालखण्डको सामाजिक न्याय र व्यवस्था कस्तो थियो भन्ने देखाउन फिल्मलाई राजनीतिज्ञबीच भिआईपी शो गर्न लागेको बताए । गिरीका अनुसार मुख्यगरी राजनीतिक नेताहरुले हेरे भने फिल्म उद्योगको विकासमा पनि सहयोग पुग्छ भन्ने पनि अर्को उद्देश्य हो ।

फिल्मले अमेरिकामा २१७ वटा फिल्ममध्ये उत्कृष्ट चलचित्र अवार्ड र उत्कृष्ट नायिकाको अवार्ड पाएको थियो । फिल्मका कार्यकारी निर्माता रवि अधिकारी विशिष्ट राजनीतिक नेताहरुलाई भेटेर भिआईपी सोमा सहभागी हुन गरेको निमन्त्रणामा उनीहरुले कथावस्तु मन पर्यो भनेर हेर्न आउने प्रतिबद्धता समेत जनाईसकेको बताउँछन् । भीआइपी शोका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, एमाले नेताहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, माओवादी नेताहरु जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन अनन्त, ओनसरी घर्ती मगर समेत फिल्म हेर्न आउँदैछन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, वातावरण मन्त्री लालबाबु पंडितले समेत फिल्म हेर्न आउने प्रतिबद्धता जनाईसकेका छन् । काँग्रेस नेताहरु विमलेन्द्र निधि, डा प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगन थापा,उमा अधिकारी रेग्मीले पनि फिल्म हेर्ने जनाएका छन् । भीआइपी शोको अघिल्लो दिन हेटौडामा हेटौंडामा च्यारिटी शो समेत राखिएको छ । यसअघि अमेरिका, चितवन लगायत विभिन्न स्थानमा च्यारिटी शो गरिएको उक्त चलचित्र जापान, हंगकंग, कोरिया ,यूरोप लगायत देशमा पनि प्रदर्शनको तयारी छ ।

लेखक तथा निर्देशक शिवम अधिकारी सात वर्षको अथक प्रयासपछि एउटा ऐतिहासिक र समाजिक विषय बोकेर चलचित्र पंचायत आएको भन्दै एकपटक फिल्म हेर्न दर्शकलाई आग्रह गर्छन् । फिल्ममा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ।। शुसान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।