मंगलमले फुरुङ्ग शिल्पा

काठमाडौं । फिल्म बनाइरहने निर्माता भन्दा पहिलोपटक फिल्म बनाएको निर्मातामा आफ्नो फिल्म प्रति ठूलो भरोसा र उत्साह हुन्छ । नायिकाबाट निर्मात्रीको विधा थपेकी नायिका शिल्पा पोखरेलमा अहिले त्यस्तै उत्साह र भरोसा छ । आगामी शुक्रबारबाट रिलिज हुन लागेको उनको फिल्म ‘मंगलम्’बाट शिल्पालाई भरोसा र उत्साह दुवै उस्तै छ । फिल्मको गीत ‘पर्ख पर्ख मायालु’ले युट्युबमा १ करोड बढी दर्शक पाएको मौकामा राजधानीमा बुधबार पत्रकारमाझ गरिएको कार्यक्रममा शिल्पाको उत्साह र फुरुङ्गपन प्रष्ट देखिन्थ्यो ।

निर्धारित समय भन्दा केही ढिलो कार्यक्रम शुरु भए पनि यसको फाइदा शिल्पाले नै लिइन् । उनी युट्युब तथा टेलिभिजनलाई अन्तरवार्ता दिन व्यस्त थिइन् । उनलाई फिल्मका प्रमुख नायक पृथ्वीराज प्रसाई र पुष्प खड्काले पनि सहयोग गरिरहेका थिए । युट्युबमा सार्वजनिक भएको ६ महिनामा यो गीतले करोड भ्यू पाएको थियो । दीपक शर्माको संगीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको गीतमा दीपककै शब्द छ ।

केक काटेर उत्सव मनाइरहँदा शिल्पाले आफू फिल्ममा प्रेमिकादेखि श्रीमतिसम्मको भूमिकामा देखिएको बताइन् । ‘यो फिल्मबाट म धेरै आशावादी छु । निर्देशक नवल नेपालले हामीलाई उत्कृष्ट फिल्म बनाएर दिनुभएको छ ।’ शिल्पाले भनिन् । शिल्पा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता छविराज ओझा छन् । नवल नेपाल निर्देशित फिल्ममा मिथिला शर्मा, पृथ्वीराज प्रसाईलगायतका कलाकारको अभिनय छ । दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेको फिल्ममा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य छ ।

तस्बिरः रघुनाथ सापकोटा/केशव खड्का