तराईका गाउँमा केकी–नाजिरको राज्जा रानी

काठमाडौं । मधेसमा व्याप्त दाइजो प्रथाको कथालाई विषयबस्तु बनाइएको फिल्म ‘राज्जा रानी’ लाई अब ग्रामीण भेगका दर्शकल पनि हेर्न पाउने भएका छन् । फिल्मसँग कम पहुँच भएका ग्रामीण बस्तीलाई तराईका गाउँ गाउँमा मैथिली भर्सनमा देखाउन लागिएको हो ।  मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले ‘घुम्ती सिनेमा’ मार्फत फिल्मलाई तराईका गाउँगाउँमा देखाउन लागिएको हो ।

प्रदेश नम्बर १ र २ अन्र्तगत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा फिल्म देखाउन लागिएको कम्पनीका अध्यक्ष एवम् ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता राजकुमार महतोले बताए । ‘भोलि शनिबार सप्तरीको तिरहुतस्थित लोहजुरा गाउँबाट हामी यो अभियानको शुभारम्भ गर्दैछौं । प्रत्येक जिल्लाका ६ देखि ८ स्थानमा ३ देखि ५ वटासम्म शो गर्नेछौं । प्रत्येक दर्शकबाट ५० रुपैयाँ शुल्क उठाउने उद्देश्य छ ।’ उनले भने । सप्तरीमा अभियानको शुभारम्भ प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवककिशोर साहको प्रमुख आतिथ्यमा हुने समेत कार्यक्रममा जानकारी दिइयो ।

‘सुरुमा नेपाली भाषामा मात्रै बनेको ‘राज्जारानी’ले मधेशको दाइजो समस्यालाई उठाएको थाहा पाएपछि यसलाई हामीले मैथिली भाषामा डब गर्ने प्रर्दशन गर्ने निर्णय लियौँं । अब घुम्ती सिनेमा अभियानले हाम्रो दाइजोप्रथा विरुद्धको अभियान र फिल्मको विस्तार दुवै कुरामा सघाउ पु¥याउने पक्का छ ।’ उनले अगाडि भने । ‘राज्जारानी’मा केकी अधिकारी र नाजिर हुसेन प्रमुख भुमिकामा छन् । ‘राज्जा’को भुमिका निर्वाह गरेका नाजिरले कार्यक्रममा यसरी आफ्नो फिल्म गाउँ–गाउँमा देखाउन लागेको खबरले खुशी व्यक्त गरे । ‘मैले पनि पहिलोपल्ट नेपाली फिल्म हलमा नहेरेर बाहिर पर्दामा नै हेरेको थिएँ,’ उनले भने, ‘फिल्म हल नभएका कारण सिनेमाको पहुँचबाट टाढा रहेका थुप्रै दर्शकलाई यो घुम्ती सिनेमा अभियानले उत्साहित बनाउँला भन्ने मलाई लागेको छ ।’

‘राज्जारानी’का निर्देशक एवम् स्क्रिप्ट राइटर यम थापाले घुम्ती सिनेमा अभियानमार्फत अझै पनि दाइजोको समस्या नहटेका गाउँहरुमा फिल्मले जनचेतना फैलाउन मद्दत पुग्नेमा आशावादी सुनिए । घुम्ती सिनेमा अन्र्तगत फिल्म प्रर्दशनका लागि १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी उच्च गुणस्तरमा देखाइने निर्माता महतोले जानकारी दिए ।