सांगीतिक रजत वर्षमा बसन्तको गीत

काठमाडौं । २५ वर्ष लामो सांगीतिक यात्राको अवसर पार्दै संगीतकार राजु सिंह तथा गीतकार बसन्त वित्यासी थापाको ‘तिमी मेरो साथी’ नामक एल्बमको ‘फूल भन्दा कमी छैन’ गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार संगीतकार राजु सिंहले आफ्नो सांगीतिक करियरमा ‘नजरको दोषी बनी’, ‘रित्तो सडक’जस्ता बसन्तका गीतले आफ्नो करियरमा टर्निङ पोइन्ट ल्याएको बताए । गीतकार बसन्तले आफूहरुको मित्रता सधैं यसरी नै अगाडि बढिरहने बताए ।

भिडियोमा गणेश अग्रवाल र साधना शर्माको अभिनय छ भने राजेशपायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोमा सुरेश बज्राचार्यको छायांकन छ ।

मिलाप मासिकले आयोजना गरेको कार्यक्रममा कलाकार उत्तम केसीले आगामी दिनहरुमा पनि यो मित्रता रहिरहोस् भन्दै शुभकामना दिएका थिए । राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दशक, जस्ता एल्वम यस अघिनै सार्वजनिक भइसकेका छन् ।