पञ्चायत भीआइपी शोमा नीताको चर्चा

काठमाडौं । आफूलाई निमन्त्रणा गरिएका फिल्मका प्रिमियर शोमा नायिका नीता ढुंगाना प्रायशः ग्ल्यामर लुक्समा उपस्थित हुने गर्छिन् । रेडकार्पेट प्रिमियरमा ग्ल्यामर पहिरनमा आउने नीतातिर मिडियाको क्यामराको आँखा पनि मोडिने गर्छ । शुक्रबार साँझ राजधानीमा आयोजना गरिएको फिल्म ‘पञ्चायत’को भीआइपी शोमा नीता विशेष आकर्षणको रुपमा रहिन् । यो फिल्मकी प्रमुख कलाकार नीता फिल्मकै गेटअपमा आउँदा सबैको चासोको विषयमा परिन् । फिल्ममा ग्रामीण महिलाको चरित्रमा देखिएकी नीता त्यही चरित्रलाई फिल्मको विशेष शोमा प्रस्तुत गर्दा चासोको विषय बनेकी हुन् ।

फिल्म हेर्नका लागि हलमा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता झलनाथ खनाल, काँग्रेस नेता मिनेन्द्र रिजाललगायतले पनि नीताको पहिरन शैलीसँग फिल्ममा उनको अभिनयको प्रशंसा गरे । दुई चुल्ठी बाटेर पञ्चायतको गाउँले शैलीमा हातमा कालो सानो बोर्ड र गुन्द्री लिएर आउँदा उनको शैलीलाई सबैले रुचाएका थिए । फिल्मका अन्य कलाकारहरु सरोज खनाल, गणेश गिरी र जाहान्वी बस्नेत पनि फिल्मकै गेटअपमा देखिएका थिए ।

२०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर निर्माण गरिएको फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्मले उसबेलाको सामाजिक र सांस्कृतिक चित्रण गर्न सफल भएको बताए । ‘कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ । तर नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको छ ।’ उनले भने ।

पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे । पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिनेन्द्र रिजालले फिल्ममा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको आफुले पाएको बताए ।

गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको फिल्मको कार्यकारी निर्मातामा रवि अधिकारी छन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममारुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ ।