मित्रतालाई सम्झँदै अनुप–प्रदिपले गाए गीत

काठमाडौँ । पेशाले अनुप ओझा दी काठमाडौं पोष्टका पत्रकार हुन् । समाचार लेखनमा राम्रो खुबी कमाएका यिनै अनुप अब गायक भएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् । उनको पहिलो गीत ‘वारीको डाँडामा म’को भिडियो शनिवार सार्वजनिक भएको छ । अनुपकै शब्द रहेको गीतमा सागर राजको संगीत तथा अनुप र प्रदिप लामाको स्वर छ । भिडियो द नेक्स्टले बनाएको हो । गीतले दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भलाई समेटेको छ । ‘पढाइ वा अरू कारणले दुई मित्रमध्ये एक देशबाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको छ,’उनले भने ।

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले फिचरिङ गरेका छन् । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियो यस स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो । यसलाई द नेक्स्टले सागर राज फिल्म्सको सहकार्यमा प्रस्तुत गरेको हो । भिडियोको नेपाल छायांकन अनिल के मानन्धर र अष्ट्रेलिया छायांकन सिरुजाल एभर(उज्जवल राई)ले गरेका छन् ।

‘नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको यो हाम्रो पहिलो प्रोजेक्ट हो,’ ‘जालमा,’ ‘मै नाचेँ छमछमी,’ ‘फन्टास्टिक,’ ‘मीठो,’ ‘यो के भयो’ जस्ता लाखौँ भ्युज पाएका म्युजिक भिडियो बनाइसकेका प्रदीप भन्छन्, ‘बनाउन अलिक समय लागे पनि अहिले हेर्दा सन्तोष लागेको छ । साथीभाइलाई मिस गर्ने सबै जनालाई यो भिडियो मन पर्छ ।’ अनुपले आफ्नो पत्रिकामा लामो समयदेखि संगीत सम्बन्धी समाचार–समीक्षा लेख्दै र देश–विदेशका सांगीतिक हस्तीहरूसँग अन्तर्वार्ता गर्दै आइरहेका छन् । अर्कातर्फ उनले वरिष्ठ रंगकर्मी सुनील पोखरेलसँग अभिनय कौशल पनि सिकेका छन् ।