तारक मेहता छोड्दै दयाबेन

मुम्बई(एजेन्सी) । सब टेलिभिजनको चर्चित शो ‘तारक मेहता का उल्टा चश्मा’मा दयाबेनको चरित्र निभाउने अभिनेत्री दिशा वकानीले यो शोबाट बिदा लिने भएकी छन् । दिशाले आफू गर्भवती अवस्थामा नै शो छोड्ने तयारी भइरहँदा शोका निर्माताले गत मार्चमा उनलाई शोमै फिर्ता बोलाउने बताएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिशा सुत्केरी विदाकै कारण कैयौं महिनादेखि शोमा देखिएकी थिइनन् । उनले गत वर्षको सेप्टेम्बरमा शोका लागि अन्तिम सुट गरेकी थिइन् । हालका दिनमा दिशा विवाह र व्यक्तिगत जीवनमा व्यस्त छिन् । उनले आफ्नो बच्चालाई समय दिनुपर्ने भएकाले पनि शो छोड्ने तयारीमा छिन् ।

दिशाले सन् २०१५ मा मुम्बईका चार्टड एकाउन्टेण्ट मयूर पाडियासँग विवाह गरेकी थिइन् । गत वर्षको नोभेम्बरमा उनले छोरीलाई जन्म दिएकी थिइन् । दिशा यो सुपरहिट शोमा जेठा लालकी श्रीमति दयाबेनको चरित्रमा देखिने गर्थिन् । शोमा उनको अभिनयसँगै स्वरले पनि उनलाई लोकप्रियता दिएको थियो । उनले ‘जोधा–अकबर’, ‘देवदास’ ‘लव स्टोरी २०५०’ र ‘मंगल पाण्डेयः द राइजिङ’जस्ता फिल्ममा पनि काम गरिसकेकी छन् ।