भोमनको भिमसेनमा कथाको फ्युजन

काठमाडौं । एक्सन, लभ र कमेडीलाई फ्युजन गर्दै नयाँ फिल्म ‘भिमसेन’ बन्ने भएको छ । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुतिका रुपमा रहेको फिल्मको मंगलबार राजधानीमा घोषणा गरियो । भोमन कटुवालको निर्देशनमा बन्ने फिल्ममा कला राईको लगानी रहनेछ । फिल्ममा संगीता बानिया, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक कटुवालले बाँकी कलाकारको छनौंटको काम भइरहेको बताए ।  फिल्ममा राजु किराती राईको द्वन्द्व, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहने छ ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फिल्मको शुभ मुहूर्त समेत गरिएको थियो । चैतको पहिलो हप्ताबाट छायाँकन गरिने फिल्मलाई काठमाडौं आसपासका क्षेत्रमा छायाँकन गरिने छ ।