एमपीको भिडियोमा निराजन–सोनाको प्रेमभाव

काठमाडौं । पछिल्लो समयका व्यस्त एवं चर्चित मोडल निराजन प्रधान र सोना पालुङुवा लिम्बूको प्रगाढ प्रेम एक भिडियोमा छचल्किएको छ । गायिका प्रकृति थलङको ‘मेरो मुटु’ बोलको भिडियोमा निराजन र सोनाबीचको प्रेमलाई चित्रण गरिएको छ । ‘लभ सेन्टिमेन्ट’ यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक एमपीले एक प्रेमिल जोडीको अन्तरप्रेमभावलाई ‘सेन्टिमेन्ट’ रुप दिएका छन् ।

भिडियोमा निराजन र सोनाको जोडी राम्रै जमेको छ । निराजन अहिलेका व्यस्त र चर्चित मोडल हुन् भने सोना मोडलिङ क्षेत्रमा केही गरौं भन्ने हेतुले संर्घषरत छिन् । फेसन डिजाइनर कमल मानन्धरको क्रियटिभ पहिरनले पनि भिडियोमा यी जोडी सुन्दर दिएको छ ।

बुद्धराज राईको शब्दरचना र कमल रसाइँलीको संगीत रहेको यस गीतको भिडियोलाई निर्देशक समेत रहेका फोटो पत्रकार नबिनबाबु गुरुङले खिचेका हुन् । गोदाबारी भिजेल रिसोर्टमा छायांकन गरिएको यस भिडियोलाई टेकेन्द्र शाहले रंगरगुन तथा सम्पादन गरेका हुन् ।