संगीतमै जीवन देख्ने ठाकुरप्रताप

काठमाडौं । हरेक व्यक्तिसँग जीवनको एउटा लक्ष्य हुन्छ । आफ्नो लक्ष्यमा पुग्न जीवन नै समर्पण गर्ने व्यक्ति चाहिँ कम नै हुन्छन् । यस्तै संगीतमा नै जीवन खोजि गरिरहेका एक व्यक्ति हुन् ठाकुर प्रताप दुलाल । ठाकुर प्रताप दुलालले जब देखि जिवनमा केहि गर्नु पर्छ भनेर सोच्न थाले त्यहि समय देखि संगीतमा उनी लागे । २०५३ सालमा पहिलो पटक स्टेजमा ‘मै नेपाल जाने बेलैमा’ बोलको गीत प्रस्तुत गरे पछि उनलाई संगीतको भुतले छोयो ।

एसएलसि पास गरेपछि देखि नै आरआर कलेजमा संगीत बिषय लिएर अध्ययन सुरु गरेका उनले २०६ंं० सालमा बिएसम्मको अध्ययन गरे । नेपालमा संगीत विषयमा एमएसम्मको अध्ययन गर्न पाउने व्यवस्था नभएको कारण उनले भारतको कोलकतामा रहेको रबिन्द्र भारती विश्वविद्यालयबाट संगीतमा एमएसम्मको अध्ययन गरेर स्वदेश फर्किएका ठाकुर प्रताप सुरुवातमा संगीतकारबाट आफ्नो संगीतको यात्रालाई निरन्तरता दिइरहेका छन् भने पछिल्लो समय गायनमा पनि सक्रियता बढाइरहेका छन् ।

उनले नेपाल तथा भारतका संगीतज्ञसँग पनि संगीत सिकेका छन् । नेपालमा संगीतकार दिपक जंगम र शाष्त्रीय संगीतज्ञ धनबहादुर गोपालीसँग संगीत सिकेका दुलालले भारतमा आलोक चटर्जीसँग खयाल गायतको तालिम पनि लिएका थिए । आफ्नो आधा भन्दा बढि उमेर उनले संगीतलाइ दिएका छन् । हाल उनी आफै गीत कम्पोज गर्छन्, आफै एरेन्ज गर्छन र आफै गीत पनि गाउँछन् ।