असारबाट टेलिभिजनमा द भ्वाइस अफ नेपाल

काठमाडौं । एक गायन रियालिटी शो मा विश्वमै नाम कमाएको ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ असारबाट प्रसारण शुरु हुने भएको छ । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलको निर्देशन हुने ‘द भ्वाइस अफ नेपाल’ले आइतबार साँझ राजधानीमा पत्रकार तथा संगीतकर्मीका माझ असारबाट प्रसारणको घोषणा गरेको हो ।

निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिष्पर्धा भए पनि ती प्रतिष्पर्धा भन्दा अन्य विषयको चर्चा हुने गरेको स्मरण गरे । ‘तर हामी विवाद भन्दा पर रहेर काम गर्ने सोच बनाइरहँदा यो शोसँग हामी जोडिन पुगेका हौं । यो शो गायनको प्लेटफर्म खोजिरहेका नवप्रतिभाका लागि कोशेढुंगा साबित हुनेछ ।’उनले भने ।

शोका प्रमुख सहायक तथा आइटी प्रमुख फिरोज तिमल्सिनाले ‘द भ्वाइस अफ नेपाल’को एप्स सार्वजनिक गर्दै एप्सको प्रयोगका विविध विषयमा जानकारी दिएका थिए । प्रल्हाद सिंह महत प्रबन्ध निर्देशक रहेको शो सुशील नेपालले होस्ट गर्नेछन् । शोमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा निर्णायक छन् ।

विजेताले २५ लाख रुपैंयाँ, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् । यो शोको फ्रेन्चाइजी विश्वका १ सय ९१ मुलुकमा प्रसारण हुन्छ ।