शिवानीको काठमाडौंमा एक दिनको आवरण

काठमाडौं । पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानीसिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भएको छ । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले सोमबार आवरण सार्वजनिक गरे ।

कार्यक्रममा मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले शिवानीले उपन्यास लेख्दैछिन् भन्ने थाहा पाएपछि ‘मेरो गीत, मेरो सन्देश’की चुलबुले प्रस्तोताले प्रेम, रोमान्सबारे उपन्यास लेखिहोलिन् भन्ने आफ्नो आकलन भए पनि त्यो गलत साबित भएको बताए । ‘तर उनले मधेश, मधेश आन्दोलन र सशस्त्र विद्रोहमाथि गम्भीर उपन्यास लेखेको थाहा पाउँदा आश्चर्यचकित भएँ । यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ ।’ उनले भने ।

लेखिका शिवानीले आफू भित्रको आक्रोशले काठमाडौंमा एक दिन लेख्न प्रेरित गरेको बताइन् । ‘यही आक्रोसले मलाई वर्षौसम्म एउटै उपन्यासमा काम गर्ने जाँगर प्रदान गरेको हो । यस्तै आक्रोस उपन्यासको एक पात्रमा पनि छ र ऊ आफ्नो लक्ष्य प्राप्तिका लागि त्यसरी नै जुझिराख्छ जसरी म यो उपन्यास लेखनमा जुझिराखें,’ उनले थपिन्, ‘सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भन्ने देखाउने प्रयास मैले उपन्यासमा गरेको छु ।’ प्रकाशक नीरजले शिवानीको पुस्तक पर्खन लायक भएको बताए । उनले उपन्यास चैत्र १९ गते सार्वजनिक हुने जानकारी पनि दिए ।