विवाहको दोधारमा मरिष्का

काठमाडौं । नेपाली फिल्म ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परेँ म’को भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् । वैशाख २८ मा रिलिज हुने फिल्मको गीतमा नायिका मरिश्का पोखरेल र नवनायक कबिर खड्काले फिचरिङ गरेका छन् ।

गीतका कोरियोग्राफर शिव विक हुन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार फिल्म कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, कुसुम श्रेष्ठ ‘तरकारीवाली’, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जालगायतको अभिनय छ ।

फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको फिल्मलाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् ।