फान अवार्डमा छक्का पन्जाको दबदबा

काठमाडौं । गत वर्ष २०७३ को हिट फिल्म ‘छक्का पन्जा’ राजधानीमा आयोजना हुन लागेको ‘फान अवार्ड २०७३’मा सर्वाधिक विधाको मनोनयनमा परेको छ । आगामी चैत्र १६ गते राजधानीमा नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘दोस्रो फान अवार्ड’मा यो फिल्म २४ विधामध्ये २० विधाको मनोनयनमा परेको हो । मनोनयनमा २० विधामा २२ कलाकार तथा प्राविधिक मनोनित छन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बीच मनोनयन सूची सार्वजनिक गरियो । सार्वजनिक मनोनयनअनुसार दीपाश्रीको डेब्यु निर्देशित फिल्म कथा, पटकथा, संवाद, द्वन्द्व, सम्पादन, छायांकन, नवनिर्देशन, चरित्र अभिनेत्री, सह–अभिनेता (दुई), सह–अभिनेत्री, खलपात्र, हास्य कलाकार (दुई), अभिनेता, अभिनेत्री, चलचित्र, गीतकार, गायक, गायिका, संगीतकार र नृत्य निर्देशक विधाको मनोनयनमा परेको हो । यो मनोनयनमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी अभिनेता तथा खलपात्र दुवै विधाको मनोनयनमा छन् ।

त्यस्तै, प्रदीप भट्टराईको डेब्यु निर्देशन रहेको फिल्म ‘जात्रा’ र निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ समान १२ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘जात्रा’ चलचित्र, अभिनेत्री, अभिनेता, हास्य कलाकार, खलपात्र, सहअभिनेता, चरित्र अभिनेता, नवनिर्देशक, सम्पादन, संवाद, पटकथा र कथा विधाको मनोनयनमा परेको छ । त्यस्तै फिल्म ‘लुट २’ चलचित्र, नृत्य निर्देशक, संगीतकार, गायिका, निर्देशक, हास्य कलाकार, खलपात्र, छायांकन, सम्पादन, द्वन्द्व निर्देशन, पटकथा र संवाद विधाको मनोनयनमा परेको छ ।

त्यस्तै, हेमराज बिसी निर्देशित फिल्म ‘गाजलु’ कथा, संवाद, सम्पादन, छायांकन, नवनायिका, सहअभिनेता, सहअभिनेत्री, निर्देशक, चलचित्र विधा गरी ९ विधाको मनोनयनमा परेको छ । यस्तै आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’ द्वन्द्व, चरित्र अभिनेत्री, नवनायक, नवनायिका, सहअभिनेत्री, निर्देशक, गायक र चलचित्र विधा गरी ८ विधाको मनोनयनमा परेको छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ कथा, पटकथा, संवाद, छायांकन, चरित्र अभिनेता, अभिनेता, निर्देशक, गायक गरी ७ विधामा मनोनित भएको छ । यस्तै नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ कथा, पटकथा, सम्पादन, छायांकन, नवनिर्देशक, अभिनेत्री गरी ६ विधाको मनोनयनमा परेको छ ।

कार्यक्रममा अभिनेता नीर शाहले फिल्मले दर्शकलाई एकताबद्ध बनाउने कथामा जोड दिनुपर्ने बताए । ‘मुलुक प्रादेशिक स्वरुपमा अघि बढिसकेको छ । प्रदेशमा सरकारसँगै संसदीय अभ्यास पनि सुरु भइसकेको छ । यो अवस्थामा फिल्ममेकरले पूर्वको संस्कृति पश्चिमलाई र पश्चिमको संस्कृति पूर्वलाई मनपर्ने किसिमको फिल्म दर्शकलाई दिन आवश्यक छ,’ नीरले भने, ‘अब नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा अझ व्यापक रुपमा लैजानका लागि फिल्मकर्मीबीच सहकार्यको आवश्यकता देखिरहेको छु ।’

संघका अध्यक्ष रामकेशर बोगटीले २०७३ सालमा सार्वजनिक प्रदर्शनमा आएका ८८ फिल्ममध्ये ७ सदस्यीय प्रारम्भिक चलचित्र छनौट सिफारिस समितिले छनौट गरेका फिल्महरु निर्णायक समितिले अवलोकन गरी मनोनयन सार्वजनिक गरेको बताए ।  कार्यक्रममा मनोनयनमा परेका कलाकार तथा प्राविधिकलाई मनोनयनपत्र प्रदान गरिएको थियो ।