होराइजन कभर सङ कम्पिटिसनको तयारी

काठमाडौं । नेपालमा पछिल्लो समयमा गायन रियालिटी शो मौलाइरहँदा यस्तै भीडमा अर्को रियालिटी शो ‘होराइजन कभर सङ कम्पिटिसन’ हुने भएको छ । द होराइजन मल्टीमिडियाका कार्यक्रम संयोजक संगीत बरालले यू ट्यूब प्रतिको मानिसको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगीहरुलाई पनि अनलाइनमार्फत नै अडिसन लिइरहेको बताए ।

कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफुले गाएको गितको भिडियो बनाएर आयोजकलाई इमेल गर्नुपर्ने छ । पहिलो चरणमा आएका भिडियोलाई यूट्यूवमा अपलोड गरिने छ र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा एक लेभलको जज गरिनेछ । यो शोको निर्णायकमा संगीतकार बसन्त सापकोटा, गायिका जुना प्रसाई र कुन्ती मोक्तान छन् ।

अडिसन राउण्ड सम्म यूट्यूवमै सबै कार्यक्रम प्रशारण गरिने भए पनि दोस्रो चरणबाट कार्यक्रम यूट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माणलगायतका पुरस्कार पाउने छन् भने उत्कृष्ट तिनले समेत गीत रेकर्ड र त्यस्को म्यूजिक भिडियो निर्माणको अवसर पाउने छन् । अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यहि डिसेम्बर १ तारिख सम्म रहेको बताइएको छ ।