झापा र इलाममा खिचिदै नाईँ नभन्नू ल ५

काठमाडौं । निर्देशक विकास आचार्यको चर्चित फिल्म ‘नाईँ नभन्नू ल’को पाँचौं संस्करण ‘नाईँ नभन्नू ल ५’को छायांकन सोमबारदेखि पूर्वी नेपालको झापाबाट शुरु भएको छ । झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिनको सुटिङ तालिका राखिएको फिल्म झापाको बिर्तामोडबाट छायांकन शुरु गरिएको हो ।

झापास्थित सालबारी पोखरीबाट सुटिङ सुरु भएको फिल्मको पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिँदैछन् । यो फिल्मबाट अभिषेकसँगै झापाकी सेड्रिना शर्माले डेब्यु गर्दैछिन् । फिल्ममा सेड्रिनाको जोडी अनुभव हुनेछन् ।

विकासले झापा र इलाम पछि काठमाडौंमा हप्ता दिनको सुटिङ सकेर फिल्म छायांकनको काम सकिनेछ । ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’ उनले भने । भदौ ८ गते रिलिज मिति तोकिएको फिल्मसँग भुवन केसीको नयाँ फिल्म ‘क्याप्टेन’ रिलिज हुने चर्चा छ ।

‘नार्इँ नभन्नू ल’को समूहमा यसपटक दिलिप रायमाझी र केकी अधिकारी भित्रिएका छन् । आचार्यले केकीसँग काम गर्ने अवसर बल्ल जुरेको बताए । ‘नार्इँ नभन्नू ल ३’मा पनि केकीलाई खेलाउन चाहेका थियौं तर विविध कारणले मिलेको थिएन । यो पाला अवसर जुरेको छ,’ आचार्यले भने । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत हुनेछ ।