प्रदिप भन्छन्ः ‘प्रेमगीतको ट्यागलाई लिलिबिलीले हटाउनेछ’

काठमाडौं । आगामी चैत ३० गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘लिलिबिली’को टोली यतिबेला देश दौडाहामा छ । आइतबार काठमाडौंमा गीत सार्वजनिक गर्नासाथा फिल्मका निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का, नवनायिका जसिता गुरुङ, निर्माण सुदिप खड्का उपत्यका बाहिर निस्किए ।  देश दौडाहाका क्रममा चितवन पुगेको टिमले सोमबार पत्रकारमाझ आफ्नो कुरा राखेको थियो ।

फिल्मका नायक प्रदीपले ‘लिलिबिली’लाई डेब्यु फिल्म भन्न रुचाए ।  ‘मेरो प्रेमगीतको ट्यागलाई लिलिबिलीले हटाउनेछ । फिल्ममा निभाएको भूमिका र कामको नयाँ अनुभवले आफुलाई नयाँ उचाई दिनेछ,’उनले भने, ‘हरेक नयाँ काम मेरा लागि डेब्यु सरह हुनेछ । मेरा सबै सिनेमा मेरा लागि डेब्यु नै हुन् ।’ नवनायिका जसिताले फिल्ममा आफुले इमोसनल र सिम्पल केटिको भूमिका निर्वाह गरेको र दर्शकले मन पराईदिने आशा व्यक्त गरिन् । जसितालाई निर्देशक मिलनले पहिलो पटक बेलायतको एक नृत्य प्रतियोगीतामा देखेका थिए । त्यसपछी अडिसनमा बोलाएर फिल्मको लागि छनोट गरेको जसिताले खुलाइन ।

बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायाँकन गरिएको फिल्म हरेक नेपाली सिनेमाका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक चाम्सले बताए । निर्माता सुदिपले फिल्मको क्लाइमेक्स सिन हेरेर चाम्स र आफु रोएको स्मरण गर्दै फिल्मले नेपाली सिनेमा क्षेत्रलाई एक स्टेप माथि उठाउने बताए ।

चितवनपछि फिल्म युनिट दमक, इटहरी, धरान लगायतका शहरमा जाँदैछ । टोलीमा नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल पनि छन् । फिल्ममा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ । काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।