दर्शक हँसाउन दीपेन्द्रको ‘चङ्गाचेट’

काठमाडौं । फरक फ्लेबरका फिल्म बनाउन खप्पिस निर्देशक दीपेन्द्र के खनाल कमेडी जनराको फिल्म बनाउन पनि अब्बल छन् भन्ने कुरा उनको डार्क कमेडी फिल्म ‘झोले’बाट दर्शकले थाहा पाइसकेका छन् । यो फिल्मपछि समसामयिक र कलात्मक विषयमा फिल्म बनाइरहेका निर्देशक दीपेन्द्र पुनः डार्क कमेडी फ्लेबरको फिल्म ‘चङ्गाचेट’सँग जोडिएका छन् । फिल्मको मंगलबार राजधानीमा मुहुर्त गरिएको छ ।

अहिलेकी हटकेक नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराज जोशीलाई प्रमुख भूमिकामा लिएर फिल्म ‘चङ्गाचेट’ बनाउन लागेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा माधव वाग्लेले निर्माण गर्ने फिल्म काठमाडौं, धरान, जनकपुरलगायतका स्थानमा खिचिनेछ ।

निर्देशक खनालका अनुसार फिल्मले दर्शक हसाउँदै सामाजिक सन्देश पनि दिनेछ । ‘फिल्म डार्क कमेडीमा मनोरञ्जनसँगै सन्देश पनि दिनेछ । हाँस्न चाहने दर्शकका लागि यो नयाँ स्वाद हुनेछ । उनले भने ।

फिल्ममा आयुष्मान र प्रियंकासँगै रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, सुरक्षा पन्त, परमिता आरएल राना, सन्दिप क्षेत्री र आसिफ शाहको अभिनय हुनेछ । निरज कँडेलको छायांकन हुने फिल्ममा प्रदिप भारद्वाजको लेखन छ ।