शत्रु गते हेरेपछि झलनाथः ‘फिल्म आधुनिक छ’

काठमाडौं । एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल फिल्म हलमा विरलै भेटिन्छन् । अधिकांश समय राजनीतिक कार्यक्रममा व्यस्त हुने यी नेता सोमबार भने बागबजारस्थित सिटीम्याक्स सिनेमा हलमा भेटिए । हाल प्रदर्शन भइरहेको फिल्म ‘शत्रु गते’ हेर्न झलनाथ पार्टीका अन्य नेताका साथ आएका थिए ।

उनीसहित भीम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठलगायत फिल्म हेर्न पुगेका थिए । पूर्वप्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । खनालसहित अन्य शीर्षस्थ नेताको टोली फिल्म हेर्न पुगेको थाहा पाएपछी फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र निर्देशक प्रदीप भट्टराई हल पुगेका थिए ।

नेता खनालले फिल्म निकै रमाइलो बनेको प्रतिक्रिया दिए । ‘फिल्म हाँसोले भरिएको छ भने हर चिजलाई हाँसोमा टुंग्याईएको छ । फिल्म आधुनिक छ,’उनले भने, ‘फिल्मको चर्चा सुनेर आएको थिएँ । आफ्नो समय खेर फाले जस्तो लागेन । फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरे । फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । मह जोडीको काम उत्कृष्ट छ ।’

अभिनेता भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि फिल्म हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् । फिल्म ‘राम कहानी’का निर्देशक सुदर्शन थापासहित कलाकारहरु आकाश श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्माले पनि फिल्म हेरेका थिए ।

मह सञ्चारको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप भट्टराईको निर्देशन छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता छन् । फिल्म युनिटका अनुसार फिल्मले तीन दिनमा ३ करोड २७ लाखको व्यापार गरेको छ ।