नेपाल–भारत सीमामा रमाउँदै अर्जुन–परिणिति

काठमाडौं । बलिउड नायक अर्जुन कपुर र नायिका परिणिती चोपडा यतिबेला नेपाल र भारतको सीमानामा फिल्म ‘सन्दिप और पिंकी फरार’को सुटिङमा व्यस्त छन् । दिवाकर बेनर्जीले निर्देशन गरिरहेको यो फिल्म नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमानामा अवैध आप्रवासनको कथामा छायांकन भइरहेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि दिवाकरले निकै जोखिमपूर्ण तरिकाले मेहनत गरिरहेका छन् । फिल्मको कथा नै भारतबाट भागेर नेपाल र भारतको सीमानामा बस्न आएकी युवती खोज्ने छ । यो स्थानमा रातको समयमा अवैध आप्रवासन र दुई नम्बरी कामको चाप निकै बढ्दो छ ।
‘यहाँ रहेको काली नदीमा रातको समयमा तस्करहरुले डुंगाको सहाराले दुई नम्बरी काम गर्दा रहेछन््,’फिल्ममा संलग्न एक प्राविधिकले भने,‘तर पनि स्थानीय प्रशासनको महत्वपूर्ण साथ र सहयोगसँग फिल्म युनिटलाई आवश्यक सुरक्षा उपलब्धताले काम गर्न सहज भइरहेको छ ।’

यशराज फिल्मस्को व्यानरमा बनिरहेको फिल्मको सुटिङ तालिका विभिन्न किसिमले रोचक पनि छ । फिल्म युनिटले अन्तर्राष्ट्रिय सीमाना नजिक रहेको भारतीय क्षेत्र उत्तराखण्डको झुलालघाटमा सुटिङको काम सकेको छ । यहाँ चाँडै बन्न लागेको बाँधले यो गाउँ डुब्ने भएपछि फिल्म युनिटले हतारमा काम गरेको हो ।

अन्तर्राष्ट्रिय सीमानामा फिल्मको सुटिङ हुँदा परिणिति र अर्जुन पनि खुशी छन् । चिसो मौसममा भएको सुटिङले स्वास्थ्यमा केही असर गरे पनि त्यो असरको परवाह नगरी उनीहरु फिल्म सकाउन सक्रिय छन् । थ्रिलर शैलीको यो फिल्म आगामी वर्षको अगष्ट ३ मा रिलिज हुँदैछ ।