‘बोर्डर’मा सिमावर्ती बासिन्दाको त्रासदी

काठमाडौं । सिमावर्ती बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदीलाई आधार बनाएर लेखिएको रविन्द्र कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणीन्द्र संगम, डोलेन्द्र थापा लगायतले पुस्तकको विमोचन गरे ।

पुस्तकमाथि धारणा राख्दै पूर्वकुलपति तथा वरिष्ठ कवि काइँलाले मेची सिमानाको सामाजिक कथालाई लेखकले मिहिन ढंगले औपन्यासिक रुपमा प्रस्तुत गरेको बताए । सीमावर्ती भूगोलका मानिसहरुको हिमचिम अर्को देशका सिमानाकै मानिससँगै हुने भएकाले त्यहाँ सम्बन्धको विस्तारसँगै अप्रत्यक्ष त्रासको सिर्जना रहने उनको भनाइ थियो । ‘पूर्वी नेपालको झापाका गाउँहरुलाई परिवेश बनाएर चार दशकअघिको सामाजिक, सांस्कृतिक, राजनीतिक विषयलाई उपन्यासमा चित्र जस्तो बनाएर देखाएका छन् लेखकले,’ उनले भने, ‘चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा त्यो बेला जस्तो थियो अहिले पनि त्योभन्दा फरक छैन ।’

कवि विप्लव प्रतीकले हराइसकेको पाण्डुलिपि खोज्न लगाईकन प्रकाशनसम्मको अवस्थाबारे चर्चा गरे । ‘चालीस वर्षअघि लेख्न थाल्नुभएको रहेछ । पाण्डुलिपि थन्किएर बसेको थाहा पाएपछि खोजी गर्न लगाएँ,’ उनले भने, ‘नेपाली साहित्यका लागि यतिको महत्वपूर्ण कृति आवश्यक छ भन्ने लागेरै प्रकाशनको तारतम्य मिलेको हो ।’ उपन्यासले सिमानामा चलिरहने घटनाका सूक्ष्म कथाहरु खोतलेको उनको भनाइ थियो ।

अर्का वक्ता पत्रकार फणीन्द्र संगमले सिमानामा रहेका नेपालीले वर्षौंदेखि भोग्दै आएको त्रासदिको सग्लो चित्र उपन्यासले कोरेको बताए । पुस्तकको औपन्यासिक संरचना अब्बल रहेको उल्लेख गर्दै उनले पाठकलाई तत्कालीन समाज र इतिहास बुझाउन पुस्तक सफल रहेको चर्चा गरे । ‘सिमानामा हुने लुटपाट, चोरी डकैतीका साथै चार दशकअघिको सामाजिक संरचनाको सग्लो चित्र उपन्यासले उतारेको छ,’ उनले भने, ‘पञ्चायती समाज व्यवस्था र नेपाली समाजको विगत खोतल्न पनि उपन्यास निकै सहयोगी बनेको छ ।’

पत्रकार डोलेन्द्र थापाले पछिल्लो समय नेपाली साहित्यमा पढ्नैपर्ने सामाजिक उपन्यास लेखिएको बताए । सिमानाका दुःखसँगसँगै कालोबजारी गर्नेहरुले प्रयोग गर्ने त्यो बेलाको कोडभाषा र स्थानीय लबजलाई जस्ताको तस्तै रुपमा उतार्न लेखक सफल रहेको उनको भनाइ थियो । मिर्गौला रोगबाट पीडित लेखकको भने पुस्तक प्रकाशनको चरणमै निधन भएको थियो । उनकी छोरी कलिना कार्कीले लेखकको निजी जीवन र साहित्यिक रुचिका बारे चर्चा गरिन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।