केकीको कोहलपुर एक्सप्रेसमा फरक प्रियंका–ऋचा

काठमाडौ । कमेडी फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्ममा नायिका प्रियंका कार्कीलाई गर्भवती र नायिका ऋचा शर्मालाई आइटम गर्लका रुपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक ट्रेलरमा प्रियंकालाई बच्चा जन्माउन गर्नुपरेको संघर्षलाई देखाइएको छ । उनले बच्चा जन्माउनकै लागि पैसा जुटाउने विषयलाई पनि फिल्ममा समेटिएको छ । फिल्ममा चर्चित मोडल तिर्सना बुढाथोकीको जस्तै भूमिकामा नायिका ऋचा देखिएकी छन् ।

राजधानीमा बुधबार पत्रकार माझ ट्रेलर सार्वजनिक गर्दै केकीले पहिलोपटक फिल्म निर्माणमा आएकाले कमेडी फ्लेबरबाटै शुरुवात गरेको बताइन् । नायिका प्रियंकाले कमेडी फ्लेबरका फिल्ममा काम गर्दा छुट्टै रमाइलो हुने बताइन् । त्यस्तै ऋचाले आफू फिल्ममा मोडल ‘तिर्सना बुढाथोकी’ नबनेको दाबी गरिन् ।

फिल्मबाट निर्देशनमा डेब्यु गरेका फिल्मका लेखक तथा निर्देशक विशाल भण्डारीले पहिलो प्रयास स्वरुप कमेडी फ्लेबरको फिल्म रोजेको बताए । वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म केकीको ब्यानर जुनकिरी आर्टसबाट निर्माण भएको हो । फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागार्इं निर्माता छन् । फिल्ममा राजनराज शिवाकोटी, अर्जुन पोखरेलको संगीत छ ।