भोजपुरलाई सहयोग गर्न दुबईमा गुञ्जिए राजेशपायल

काठमाडौं । अहिलेका व्यस्त एवं लोकप्रिय गायक राजेशपायल राईले सामाजिक कामका लागि दुबईमा रहेका नेपाली तथा स्थानीय दुबईबासीलाई आफ्ना गीतमार्फत नँचाएका छन् ।

दुबईमा बस्दै आएका राजेश पाण्डेले आयोजना गरेको कार्यक्रममा राजेशपायलले मनको कुरा, नाइ नभन्नु ल, मैले मायाले दिएको चिनो, दर्शन नमस्ते ३ लगायतका चर्चित गीत सुनाएका थिए । आफै पनि नाँच्दै अनि दर्शकलाई पनि नचाउन खप्पिस राजेशपायलको गीतमा दर्शकहरु निकै खुशी देखिएका थिए ।

भोजपुरमा अपांगता भएका बालबालिकालाई शिक्षा प्रदान गर्न आयोजकले कार्यक्रम गरेपछि यो कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो । कार्यक्रममा वरिष्ठ गायक जयनन्द लामासँगै स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

‘कार्यक्रम सोचे भन्दा राम्रो भयो । सामाजिक काममा दर्शकको उपस्थिति उल्लेख्य हुँदो रहेछ,’आयोजक राजेशले भने । गायक राजेशले हरेक देशमा हुने आफ्नो कार्यक्रम विशेष किसिमको हुने स्मरण गर्दै दुबईको कार्यक्रम पनि सम्झनलायक बनेको बताए ।